
बझाङको थलारा गाउँपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार, झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडातर्फ गइरहेको ट्याक्टर थलारा–२ कफलफाँडा नजिक पारमुल भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करिब एक किलोमिटर तल खसेको हो।
दुर्घटनामा थलारा–२ कफलकाँडाका स्थानीय कौमले खाती र जसे खातीको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष रविन्द्र बहादुर खातीले जानकारी दिएका छन्।
यस दुर्घटनामा ट्याक्टर चालक कैलालीका खुशीराम चौधरी गम्भीर रूपमा घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिमखेत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाले सडकको कमजोर अवस्था र लगातारको वर्षाका कारण ट्याक्टर अनियन्त्रित भएको हुनसक्ने बताएका छन्।