
जिल्लाको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक अझै पूर्ण रूपमा कालोपत्र हुन सकेको छैन। सडक खण्डको बन्साह वनक्षेत्रदेखि कलुवापुरसम्म करिब तीन किलोमिटर सडक अझै कालोपत्र हुन बाँकी छ। यस कारण स्थानीयवासी धुलाम्मे र खाल्डाखुल्डी सडकमा सास्ती खेप्न बाध्य छन्।
सडकको निर्माण ठेक्का विसं २०७८ मा निर्माण कम्पनीलाई दिइएको थियो। तर ठेक्का पाउने कम्पनीको ढिलासुस्ती र काममा गति नआएको कारण सडक कालोपत्र अझै अधुरो छ। स्थानीयवासीहरूले पटक–पटक सडक बन्द गरेर दबाब दिनु परेको छ।
कलुवापुरका व्यवसायी अक्कलबहादुर विष्ट भन्छन्,
“तीन किलोमिटर सडक कालोपत्र गर्न पाँच वर्ष लाग्नु विडम्बना हो। काम नगर्ने ठेक्का तोडिनुपर्छ, क्षतिपूर्ति असुल गर्नुपर्छ।”
शुक्लाफाँटा नगरपालिका–१२ का टुङ्के बोहराले भने,
“राजनीतिक पहुँच नभएको भए अहिलेसम्म काम सकिन्थ्यो। यस्ता कार्य नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नु पर्छ।”
पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीका अनुसार कार्यालयले पटक–पटक निर्माण व्यवसायीलाई काम अघि बढाउन ताकेता गरिरहेको छ। उनले भने,
“गत वर्ष रु एक करोड २५ लाख विनियोजन भएको बजेट कार्य नहुँदा फिर्ता भयो। यस वर्ष रु ५० लाख विनियोजन गरिएको छ। बजेटको अभाव छैन। निर्माण व्यवसायीले मात्र काम अगाडि बढाउनुपर्छ। आवश्यक परे रकमान्तर गरेर पनि कालोपत्रका लागि बजेटको व्यवस्था हुन्छ।”
उनका अनुसार, आउँदो चैतसम्म ठेक्का सम्झौताको म्याद बाँकी छ।
“निर्धारित समयभित्र कार्य सम्पन्न नभए ठेक्का तोड्नेबारे विचार भइरहेको छ।”
करिब चार दशकअघि निर्माण थालिएको सो सडकका केही भाग कालोपत्र भइसके पनि बन्साहदेखि कलुवापुरसम्मको तीन किलोमिटर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चानदेवदेखि स्याली नदीसम्मको पाँच किलोमिटर सडक कालोपत्र र स्तरोन्नति हुन सकेको छैन।
सडक कालोपत्र भइसकेका ठाउँमा समेत सडक फुट्ने र खाल्डाखुल्डी हुने समस्या निरन्तर देखिँदै आएको छ। मर्मतको पर्खाइमा रहेका ती भाग पनि क्रमशः बिग्रँदै गएका छन्।