Join our Channel

भाटभटेनी लुटपाटमा संलग्न शिक्षक विद्यालयबाट बर्खास्त

भाटभटेनी लुटपाटमा संलग्न शिक्षक विद्यालयबाट बर्खास्त

जेन–जी आन्दोलनको क्रममा भुटवलको भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटको घटनामा संलग्न भएको आरोप लागेका शिक्षक शिवशंकर शुक्लालाई कालिका मानवज्ञान माध्यमिक विद्यालयले बर्खास्त गरेको छ।

शिक्षकको संलग्नता पुष्टि

विद्यालयले एक विज्ञप्ति जारी गर्दै शिक्षक शुक्लालाई विद्यालयको आचरण संहिताविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै कारबाही गरिएको जनाएको छ।

सामाजिक सञ्जालमा प्रकाशित तस्बिर र भिडियोको आधारमा शिक्षक शुक्लाको संलग्नता पुष्टि भएको र त्यसको परिणामस्वरूप विद्यालय प्रशासनले उनलाई हटाएको हो।

विद्यालयको आधिकारिक प्रतिक्रिया

विद्यालयका प्रधानाध्यापक दिनेश थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ:

“मिति २०८२ साल भदौ २४ गते भएको Gen-Z को प्रदर्शनमा यस विद्यालयका शिक्षक शिवशंकर शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले, विद्यालयको आचरण संहिता तथा नियमविपरीत कार्य गरेको ठहरिएकाले निज शिक्षकलाई आजैको मितिदेखि लागू हुने गरी विद्यालयबाट हटाइएको व्यहोरा जानकारी गरिन्छ।”

विद्यालय प्रशासनको यो कदमले कर्मचारीहरूको आचार संहिता पालनामा कडाइको सन्देश प्रवाह गरेको र भविष्यमा यस्ता गतिविधिबाट टाढा रहन कर्मचारीहरूलाई चेतावनी दिएको विश्लेषकहरूले बताएका छन्।

Leave a comment