
भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ भएको कार बम विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
विस्फोट साँझ करिब ६:५२ बजे हुन्डाई आइ–२० कारमा भएको थियो। कार ट्राफिक सिग्नलमा रोकिएको अवस्थामा एक्कासी शक्तिशाली विस्फोट हुँदा वरपरका सवारीसाधन, भवन र सडक संरचनामा समेत ठूलो क्षति पुगेको दिल्ली प्रहरीले जनाएको छ।
फरेन्सिक रिपोर्टका अनुसार, उक्त विस्फोटमा प्रयोग गरिएको विस्फोटक पदार्थ ‘अमोनियम नाइट्रेट’ रहेको पुष्टि भएको छ।
दिल्ली प्रहरीका अनुसार, विस्फोटमा प्रयोग भएको कार हरियाणाको गुरुग्राममा एचआर–२६ नम्बरमा दर्ता गरिएको पाइएको छ। सो कारका पहिलो मालिक मोहम्मद सलमान हुन्, तर कार सात पटकसम्म किनबेच भएर अन्ततः डा. उमर नबी नामक व्यक्तिसम्म पुगेको खुलेको छ।
भारतीय सञ्चारमाध्यमहरूले जनाएका अनुसार डा. उमर नबी कश्मीरका चिकित्सक हुन् र उनी जैश–ए–मोहम्मदसँग सम्बन्धित रहेको आशंका गरिएको छ।
घटनाको दिन नै जम्मु–कश्मीर, हरियाणा र उत्तर प्रदेश प्रहरीले संयुक्त रूपमा फरीदाबादको आवासीय क्षेत्रबाट करिब २,९०० किलो शंकास्पद विस्फोटक पदार्थ बरामद गरेको छ। बरामद वस्तुमा ३६० किलो अमोनियम नाइट्रेट, एके–४७ राइफल र बेरेट्टा पिस्तोल समेत रहेका छन्।
यस घटनाको सम्बन्ध उत्तर प्रदेशको सहारनपुरबाट पक्राउ परेका डा. आदिल अहमद राथरसँग जोडिएको बताइएको छ। राथर सहारनपुरमा चिकित्सकका रूपमा कार्यरत थिए। उनीबाट प्राप्त सूचनाका आधारमा फरीदाबादका डा. मुज्जमिल र लखनउकी डा. शाहीन शाहिदलाई पनि पक्राउ गरिएको छ।
स्रोतका अनुसार, शाहीन शाहिदलाई जैश–ए–मोहम्मदको महिला विभाग प्रमुखका रूपमा परिचालित गरिएको आशंका गरिएको छ।
दिल्ली प्रहरीले यस घटनालाई आतंकवादी हमला मानेर गैरकानुनी क्रियाकलाप ऐन (UAPA) अन्तर्गत मुद्दा दर्ता गरेको छ। अहिले घटना अनुसन्धान राष्ट्रिय अनुसन्धान एजेन्सी (NIA) र दिल्ली प्रहरीको विशेष शाखाले संयुक्त रूपमा गरिरहेका छन्।
सुरक्षा निकायका अनुसार, फरेन्सिक प्रमाण र प्रारम्भिक अनुसन्धानका आधारमा यो संगठित आतंकवादी समूहद्वारा पूर्वनियोजित हमला भएको स्पष्ट देखिएको छ।
भारतमा यसअघि पनि मुम्बई २६/११, पुलवामा २०१९, र पहलगाम २०२५ जस्ता आतंकवादी घटनाले देशलाई ठूलो चुनौती दिएको थियो। दिल्ली विस्फोटलाई पनि भारतको सुरक्षा प्रणालीमाथि गम्भीर चेतावनीको रूपमा लिइएको छ।