Join our Channel

मध्यरातमै दुर्गा प्रसाईं पक्राउ, निवासमै ठूलो संख्यामा प्रहरी परिचालन

मध्यरातमै दुर्गा प्रसाईं पक्राउ, निवासमै ठूलो संख्यामा प्रहरी परिचालन

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक तथा चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँबाट गएको ठूलो संख्याको प्रहरी टोलीले उनलाई सुतिरहेको अवस्थामै नियन्त्रणमा लिएको खुल्न आएको छ।

प्रसाईंका नजिकका सहयोगीका अनुसार मध्यरातमा अकस्मात् ठूलो प्रहरी बल निवासमा प्रवेश गरेर उनलाई पक्राउ गरिएको हो। पक्राउको क्रममा निवासबाट बाहिर निकालिएको भिडियो समेत सार्वजनिक भएको छ, जसमा प्रसाईंले आफू गाडी चढ्दै गरेको दृश्य खिच्न आग्रह गरिरहेको देखिन्छ।

यसअघि सोमबार दिउँसो प्रसाईंले पत्रकार सम्मेलन गरेका थिए। प्रेससँग कुरा गरेपछि उनले प्रधानमन्त्री सुशिला कार्कीमाथि प्रश्न उठाउँदै एक भिडियो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए।

प्रसाईंले मंसिर ७ गतेदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए। आन्दोलनको तयारीमै रहेका बेला राति उनी पक्राउ परेका हुन्। केही दिनअघि मात्र गृह मन्त्रालयमा प्रसाईं समूहका तर्फबाट २६ बुँदे मागपत्र बुझाइएको थियो। माग पूरा नभए आन्दोलनमा जाने स्पष्ट प्रतिबद्धता उनले जनाएका थिए।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार बोलाएको सुरक्षा समिति बैठकमा प्रसाईंलाई नियन्त्रणमा लिनेबारे छलफल भएको स्रोतले जनाएको छ। त्यसको २४ घण्टा नबित्दै उनलाई राति पक्राउ गरिएको हो।

Leave a comment