
संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले विज्ञापन बोर्डलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने बताएका छन्।
शुक्रबार बोर्डको सेवा प्रवाहबारे जानकारी लिँदै मन्त्री खरेलले प्रदेश र स्थानीय तहको सहभागितामा विज्ञापन कर संकलनको व्यवस्था गर्ने विषयमा छलफल भएको जानकारी दिए।
बोर्डसँग छलफल
सो अवसरमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डले गरिरहेका काम र कारबाहीबारे मन्त्रीलाई जानकारी गराएका थिए। छलफलमा आमसञ्चार माध्यम, होर्डिङ बोर्ड, सामाजिक सञ्जाल र मेला महोत्सवमा हुने विज्ञापनको नियमन र व्यवस्थापनबारे पनि कुराकानी भएको थियो।
कर संकलनमा स्थानीय तहको भूमिका
अध्यक्ष हुमागाईंका अनुसार, प्रदेश र स्थानीय तहको सहभागितासहित विज्ञापन बजारलाई व्यवस्थित गर्ने र विज्ञापन कर स्थानीय तहमार्फत संकलन गर्ने व्यवस्था बनाउन मन्त्री खरेल समक्ष अनुरोध गरिएको छ।