
खोटाङको रावाबेसी गाउँपालिकामा यो वर्ष झन्डै १ करोड रुपैयाँ बराबरको लिची उत्पादन भएको छ।
गाउँपालिका कृषि शाखाका प्रमुख उद्धव बास्तोलाका अनुसार यस वर्ष कुल १८४ मेट्रिक टन लिची उत्पादन भएको छ। प्रतिकिलो ५२ रुपैयाँको दरले यो वर्ष ९५ लाख ६८ हजार रुपैयाँभन्दा बढी आम्दानी भएको उनले जानकारी दिए।
सबैभन्दा बढी लिची उत्पादन वडा नं. १ कुभिण्डेमा भएको छ। यहाँ ११ हेक्टर क्षेत्रफलमा ८८ मेट्रिक टन लिची उत्पादन भएको छ।
त्यसैगरी,
- वडा नं. २ खार्पामा २४ मेट्रिक टन
- वडा नं. ३ लामीडाँडामा १६ मेट्रिक टन
- वडा नं. ४ धारापानीमा १६ मेट्रिक टन
- वडा नं. ५ दुवेकोलमा ८ मेट्रिक टन
- वडा नं. ६ हौंचुरमा ३२ मेट्रिक टन लिची उत्पादन भएको छ।
किसान प्रेमबहादुर मगरका अनुसार उनले दुई वटा लिचीको बोटबाट मात्रै ३० हजार रुपैयाँ कमाएका छन्।
उनले भने, “अब लिची खेतीमा अझै ध्यान दिने योजना छ, धेरै मेहेनत पनि लाग्दैन।”
त्यस्तै, खड्गप्रसाद रेग्मीले एकै बोटबाट ४५ हजार रुपैयाँ कमाएको बताए। उनले भने, “ठेकेदारले बोटमै ४५ हजार तिरे।”
रावाबेसी गाउँपालिका जिल्लाकै सबैभन्दा ठूलो लिची उत्पादन क्षेत्र हो। यहाँको लिची काठमाडाैंदेखि तराईका प्रमुख सहरसम्म पुग्ने गरेको छ।
वडाध्यक्ष गेहेन्द्रमान राईका अनुसार, यहाँका किसानले उत्पादन गरेको लिची ठेकेदारहरूले बोटबाटै प्रतिदाना १ रुपैयाँ दरमा किन्न्छन्।
किसानहरू आफैं गाडी रिजर्भ गरेर दिक्तेल बजार, हलेसी जस्ता स्थानहरूमा प्रति किलो १०० देखि १५० रुपैयाँमा लिची बिक्री गर्ने गरेका छन्।
रावाबेसीलाई ‘लिची हब’ बनाउने उद्देश्यले गाउँपालिकाको १७औं गाउँसभाले नीति तथा कार्यक्रम पारित गरिसकेको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले जानकारी दिए।