
नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले पार्टीमा नेतृत्व संकट आएको भन्दै ‘अर्ली महाधिवेशन’ को माग गरेकी छिन्। लुम्बिनी प्रदेशमा आयोजित युवा संघ नेपालको भेलामा बोल्दै उनले पार्टी पुनर्गठन अनिवार्य भएको बताइन्।
झाँक्रीले भनिन्, “अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। नेतृत्व नै संकटमा परेको छ, त्यसैले समय नगुमाई महाधिवेशन गरौं।”
उनको यस्तो अभिव्यक्ति पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि विशेष अदालतले भ्रष्टाचार मुद्दामा ३५ लाख धरौटीमा रिहा गरेपछि आएको हो। नेपाल प्रधानमन्त्री रहँदा पतञ्जलि योगपीठलाई नियम विपरीत जग्गा उपलब्ध गराएको आरोपमा अख्तियारले २२ जेठमा उनीसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
झाँक्रीले वर्तमान केन्द्रीय नेतृत्व र नामावली प्रक्रियामाथि समेत प्रश्न उठाउँदै भनिन्, “यदि मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट नेतृत्व चयन गर्ने हो भने तपाईंहरूले यो पार्टी बनाउनुहुन्न।”