
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई कमजोर बनाउने गतिविधि तीव्र रूपमा चलिरहेकाले सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्। शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित जेनजीसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि प्रश्न उठाउने खेलहरू भइरहेको आरोप लगाए।
उनले राष्ट्र हितलाई सर्वोच्च प्राथमिकता दिँदै सबै पुस्ताका नेपालीहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। जेनजी पुस्ताले उठाएका विचार, एजेन्डा र आन्दोलनले नेपाललाई नयाँ चेतनातर्फ डोर्याएको उनको भनाइ थियो।
संयोजक प्रचण्डले अबको राजनीतिक नेतृत्वमा युवाहरूलाई वैचारिक, राजनीतिक र भावनात्मक रूपमा सक्षम बनाउँदै व्यापक रूपमा अवसर दिनुपर्ने धारणा राखे। जेनजी अभियानले सुशासन र पारदर्शिताका लागि चलाएको पहलले देशलाई परिवर्तनतर्फ धकेलेको उनले बताए।
कार्यक्रमका क्रममा संयोजक प्रचण्डले केही युवाहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गराउँदै युवाको भूमिकालाई पार्टीको भावी नेतृत्व निर्माणसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए।