Join our Channel

हस्ताक्षर रुजु गर्न लागे कांग्रेस फुट्न सक्छ : शेखर कोइराला

हस्ताक्षर रुजु गर्न लागे कांग्रेस फुट्न सक्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुस मसान्तभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बाध्यकारी हुने बताएका छन्। मंगलबार बसेको केन्द्रीय समिति बैठकमा कोइरालाले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएकाले विधानअनुसार विशेष महाधिवेशन अपरिहार्य हुने दाबी गरेका हुन्।

कोइरालाले भने, “अब मंसिरमा महाधिवेशन हुन सक्दैन, पुस मसान्तसम्म १५औं महाधिवेशन गरौं। नयाँ नेतृत्वले चुनाव हाँक्नुपर्छ, ताकि मतदातामा पनि उत्साह आओस्।”

उनले थपे, “मैले मौनता साधेको छैन। कांग्रेस जन्मदेखि नै मध्यमार्गी पार्टी हो, र देशलाई मध्यमार्गीले नै हाँकेको छ, त्यसैले कांग्रेस जित्छ।”

५४ प्रतिशतले विशेष महाधिवेशनको माग

कोइरालाका अनुसार ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन्। उनले भने, “४० प्रतिशतले मात्र बुझाए पनि विशेष महाधिवेशन बाध्यकारी हुन्छ, तर अहिले त ५४ प्रतिशतले माग गर्नुभएको छ। नियमित महाधिवेशन गरियो भने उहाँहरूलाई सम्झाउँला, नत्र विधानले बाध्यकारी गर्छ।”

तर उनले हस्ताक्षर रुजु गर्ने प्रक्रियामा विवाद उत्पन्न हुने चेतावनी पनि दिए। “रुजु गर्ने क्रममा वादविवाद हुन्छ र त्यसले कांग्रेसलाई फुटको दिशामा लैजान सक्छ। त्यसैले केन्द्रीय समितिले सर्वसम्मत निर्णय गरौं,” कोइरालाले भने।

अन्य नेताहरूको प्रतिक्रिया

कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले अहिलेको परिस्थितिमा विशेष महाधिवेशनको औचित्य नभएको बताए। उनले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो। हामी निर्वाचनमार्फत जनतासामु जान्छौं। अहिलेको प्राथमिकता देशलाई संकटबाट निकाल्नु हो।”

केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने आगामी आमनिर्वाचनअघि नीति महाधिवेशन गर्ने सुझाव दिए। उनका अनुसार, “५४ प्रतिशत र बाँकी सबैलाई समेटेर नीति महाधिवेशन गरेर देशको दिशा तय गर्नुपर्छ।”

उता, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पनि “महाधिवेशन र निर्वाचन दुवै तोकिएको समयमा हुन जरुरी छ” भन्दै अब छलफलमा समय नखर्ची तयारीमा लाग्न आग्रह गरे।

कांग्रेसभित्र तीन धार : नियमित, विशेष वा वैशाखमा

असोज २८ देखि चलिरहेको कांग्रेसको केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे तीन धार बनेका छन् —
पुस मसान्तभित्र नियमित महाधिवेशन गर्ने,
तत्काल विशेष महाधिवेशन गर्ने,
वा वैशाखमा सम्मेलन गर्ने।

संस्थापन पक्ष वैशाखमा चुनावपछि अधिवेशन गर्न चाहन्छ भने विपक्षी समूह तत्काल विशेष महाधिवेशनको पक्षमा छन्।

कांग्रेसको इतिहासमा विशेष महाधिवेशन

कांग्रेसको इतिहासमा विशेष महाधिवेशन कुनै नयाँ कुरा होइन। सन् २०१४ सालमा सभापति सुवर्ण शमशेर राणाले विशेष महाधिवेशनमार्फत बीपी कोइरालालाई नेतृत्व सुम्पिएका थिए। त्यसपछि बीपीको नेतृत्वमा कांग्रेसले दुई तिहाइ बहुमतका साथ ऐतिहासिक जित हासिल गरेको थियो।

त्यसै इतिहास दोहोरिन सक्ने सम्भावना अहिले पनि देखिएको विश्लेषकहरू बताउँछन्।

Leave a comment