Join our Channel

धरानको हात्तीसारमा पाटे बाघको बच्चा भेटिँदा स्थानीय चकित, वन कार्यालयलाई बुझाइयो

धरानको हात्तीसारमा पाटे बाघको बच्चा भेटिँदा स्थानीय चकित, वन कार्यालयलाई बुझाइयो

धरान उपमहानगरपालिका–१४, बिजयपुरस्थित हात्तीसार क्षेत्रमा पाटे बाघको बच्चा भेटिएको छ। मंगलबार साँझ स्थानीय युवाहरूले असामान्य रूपमा हिँडडुल गरिरहेको जनावर देखेपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।

धरान–१६ का १८ वर्षीय युसन राई, सिमन राई र धरान–१३ का १७ वर्षीय अमन लिम्बुले उक्त बाघको बच्चा सुरक्षित रूपमा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएका थिए। प्रारम्भमा उनीहरूले जनावरलाई बिरालो ठाने पनि आकार, चालढाल र रङ हेर्दा पाटे बाघको बच्चा हुन सक्ने अनुमान गरिएको छ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईका अनुसार, भेटिएको जनावर बिरालोभन्दा केही ठूलो आकारको छ। प्रारम्भिक अध्ययनमा उक्त जनावर पाटे बाघ, चितुवा वा निगालेको पनि हुन सक्ने आशंका गरिएको उनले बताए।

डीएसपी राईले भने, “वन्यजन्तु संरक्षण ऐन अनुसार यस्ता अवस्थामा भेटिएका जनावरहरूलाई संरक्षणका लागि वन कार्यालयमा पठाइन्छ।”

धरानको हात्तीसार क्षेत्र वन क्षेत्र नजिक भएकाले त्यहाँ वन्यजन्तुहरूको आवागमन समय–समयमा देखिँदै आएको छ। स्थानीयका अनुसार, यसअघि पनि सो क्षेत्रमा चितुवा र स्याल देखिएका घटना भएका थिए।

हालको घटनाले धरान आसपासका वन क्षेत्रमा पाटे बाघको बथान (family group) हुन सक्ने अनुमान गरिएको छ। वन कार्यालयले यस विषयमा थप अध्ययन सुरु गरेको जनाएको छ।

Leave a comment