
भारतीय नागरिकसँग उपचारको क्रममा घूस लिएको आरोपमा विराटनगरको रानी इलाका प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरीमाथि अनुशासनात्मक कारबाही सुरु गरिएको छ।
भारतको पश्चिम बंगाल राज्यबाट आँखाको उपचारका लागि विराटनगर आएका एक बिरामीसँग ६ हजार भारतीय रूपैयाँ घूस लिएको उजुरीपछि मोरङ जिल्ला प्रहरी कार्यालयले दुई जना प्रहरी सहायक हवल्दार (अम्बरबहादुर श्रेष्ठ र विक्रम माझी)लाई निलम्बन गरेको छ भने प्रहरी सहायक निरीक्षक (असई) खम्बबहादुर विकलाई निलम्बनको प्रक्रिया अगाडि बढाइएको छ।
प्रहरी स्रोतका अनुसार उनीहरू विराटनगर–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटमा खटिएका थिए। बिरामीसँग ४२ हजार भारु भेटिएपछि प्रहरीले २५ हजार रूपैयाँभन्दा बढी बोक्न नपाइने भन्दै रोकेर ‘बार्गेनिङ’ गरेको र अन्ततः ६ हजार भारु लिएर छाडेको भनिएको छ।
घटनापछि बिरामीले मोरङ प्रहरी कार्यालयमा उजुरी दिएका थिए। प्रारम्भिक अनुसन्धानमा असई विकलाई निलम्बनका लागि कोशी प्रदेश प्रहरी कार्यालयमा सिफारिस गरिएको छ। तर डीआईजी ईश्वर कार्की अन्य जिल्लाको निरीक्षणमा भएकाले प्रक्रिया केही समय रोकिएको बताइएको छ।
नेपालमा ५ सय र १ हजार दरका भारतीय नोट बोक्न प्रतिबन्ध भए पनि, उपचार जस्ता आपतकालीन अवस्थाका लागि सहजीकरण गरिने गरेको प्रहरी स्रोत बताउँछ। यस विषयमा अहिले प्रहरीको आन्तरिक अनुसन्धान चलिरहेको छ।
यसअघि पनि विराटनगरकै सीआरभी केसलियामा कार्यरत असई रामअवतार यादवमाथि १३ हजार रूपैयाँ घूस लिएको आरोप लागेपछि उनीलाई पनि निलम्बन गरी छानबिन भइरहेको छ।