Join our Channel

गायिका एलिना चौहानमाथि दुर्व्यवहार: आरोपीमाथि अनुसन्धान जारी, तीन दिन म्याद थप

गायिका एलिना चौहानमाथि दुर्व्यवहार: आरोपीमाथि अनुसन्धान जारी, तीन दिन म्याद थप

चर्चित गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज तथा दुर्व्यवहार गर्ने आरोपमा पक्राउ परेका गुञ्जन राईमाथि थप अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ।

चितवनको भरतपुर–१० घर भई हाल ललितपुरको गोदावरी बसोबास गर्ने ३३ वर्षीय राईलाई साइबर ब्युरोले पक्राउ गरी बिहीबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धानका लागि तीन दिनको म्याद दिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले जानकारी दिएका छन्।

प्रवक्ता अवस्थीका अनुसार प्राविधिक विश्लेषण र अनुसन्धानबाट राईकै संलग्नता पुष्टि भएको छ। उनले विभिन्न नक्कली आइडी बनाएर समेत यस्ता गतिविधि गर्ने गरेको खुलेको छ। अनुसन्धानमा राईले पीडित गायिकाको फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर चरित्र हत्या हुने किसिमका टिप्पणीहरू समेत गर्ने गरेको पाइएको छ।

यस घटनासम्बन्धी जाहेरी गायिका चौहानले असार १६ गते साइबर ब्युरोमा दर्ता गराएकी थिइन्। उनले आफ्नै फेसबुक स्टाटसमा चरित्र हत्या गर्ने गतिविधि भइरहेको भन्दै उजुरी दिएकी हुन्।

गायिका चौहानले यो मुद्दा व्यक्तिगत मात्र नभई सबैको हक अधिकारसँग जोडिएको भन्दै सामाजिक सञ्जालमा साथ दिन सार्वजनिक अपिल गरेकी छन्। उनले भनिन्, ‘‘कुनै व्यक्तिले पनि चरित्र हत्या गर्न पाउँदैन, यसमा सबैको साथ आवश्यक छ।’’

Leave a comment