
सिन्धुपाल्चोक जिल्लास्थित तातोपानी नाका अब हेलिकोप्टर आयातको नयाँ प्रवेशद्वार बनेको छ। पहिलोपटक चीनबाट ल्याइएको हेलिकोप्टर बिहीबार तातोपानी नाकाबाट नेपाल भित्रिएको हो।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार चीनको सहरबाट ४० फिट लामो टेलरमा राखेर सो हेलिकोप्टर तातोपानी नाका ल्याइएको हो।
‘अहिले जाँच पास प्रक्रिया चलिरहेको छ, आवश्यक भन्सार प्रक्रिया पूरा भएपछि मात्र हेलिकोप्टर काठमाडौं ल्याइनेछ,’ प्रमुख चुडालले जानकारी दिए।
नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको यो हेलिकोप्टर तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो। कम्पनीले चीनबाट पाँच वटा हेलिकोप्टर ल्याउने सम्झौता गरेकोमा पहिलो युनिट नेपाल भित्रिएको हो।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्य काफ्लेले हेलिकोप्टरको भन्सार मूल्यांकन गरी कर असुल प्रक्रिया सुरु भइसकेको बताए। करिब ४ करोड १२ लाखभन्दा बढी राजस्व संकलनपछि जाँच पास प्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ।
अधिकारी काफ्लेले भने, ‘अब एक-दुई दिनमै प्राविधिक टोली तातोपानी आइपुग्नेछ, त्यसपछि हेलिकोप्टरको प्राविधिक परीक्षण गरिनेछ। त्यसपछि हेलिकोप्टर सिधा काठमाडौं उडान गर्नेछ।’
हाल हेलिकोप्टर तातोपानी भन्सार शाखामा बनाइएको नयाँ खुला पार्किङ क्षेत्रमा राखिएको छ। माउन्टेन हेलिकोप्टर कम्पनीका प्राविधिक टोली तातोपानी पुगेर तयारी गरिरहेका छन्।