
चालु आर्थिक वर्षको असार महिनामा मात्रै नेपालमा साढे ३ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार, यो लगानी १४१ वटा नयाँ उद्योगमा प्रतिवद्ध गरिएको हो।
विभागको तथ्यांकअनुसार, अप्रुभल रुटमार्फत ३ अर्ब ४ करोड रुपैयाँ र स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ५० करोड १७ लाख ७० हजार रुपैयाँको लगानी प्रतिबद्धता भएको छ।
कुल लगानी प्रतिबद्धता ६० अर्ब नाघ्यो
चालु आर्थिक वर्षको असारसम्म जम्मा ७१७ वटा उद्योगमा ६० अर्ब ६० करोड ९४ लाख रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ।
विभागका अनुसार सरकारले विदेशी लगानीकर्तालाई चरणबद्ध (किस्ताबन्दी) रुपमा लगानी भित्र्याउन स्वीकृति दिने गरेको छ। लगानीको प्रतिबद्धता भए पनि सम्पूर्ण रकम एकैपटक नेपाल नआउने तथ्य सरकारी अधिकारीहरूले समेत स्वीकार गरेका छन्।
सूचना प्रविधिमा सबैभन्दा धेरै लगानी
उद्योगअनुसार हेर्दा सबैभन्दा बढी लगानी सूचना तथा प्रविधि क्षेत्रमा (३१३.४४%) आएको छ। त्यसपछि पर्यटन (२६६.३७%), सेवा क्षेत्र (७६.११%), उत्पादन (४८.७%), कृषि (११.११%), पूर्वाधार (२%) र ऊर्जा क्षेत्रमा (१%) लगानी प्रतिबद्धता देखिएको छ।
९ अर्बभन्दा बढी लाभांश फिर्ता
साउनदेखि जेठ महिनासम्म विदेशी लगानीकर्ताले कुल ९ अर्ब ६० करोड रुपैयाँभन्दा बढी लाभांश विदेश लैजान स्वीकृति पाएका छन्। अघिल्लो वर्षको यस्तै अवधिमा यो रकम ९ अर्ब ९७ करोड थियो।
त्यसैगरी ११ महिनामा १ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी रोयल्टी पनि विदेश पठाउने स्वीकृति दिइएको छ। योमध्ये ९९ लाख अमेरिकी डलर, ८३ करोड भारतीय रुपैयाँ र ६१ हजार युरो रोयल्टी भुक्तानीका रूपमा स्वीकृत गरिएको हो।