
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको व्यापक पुनर्संरचना अनिवार्य रहेको भन्दै तत्काल विशेष महाधिवेशन बोलाउन प्रस्ताव गरेका छन्।
शनिबार भिडियो सन्देशमार्फत महामन्त्री थापाले वर्तमान संकटको सामना गर्न र जनताको भावनालाई सम्बोधन गर्न कांग्रेसले आमूल परिवर्तन गर्नुपर्ने बताएका छन्।
थापाले भने:
“यत्रो उथलपुथल भइसकेपछि हामीले पार्टीलाई जस्ताको तस्तै राखेर टिकाउन सक्दैनौं। अब मुद्दा उठाउने मात्र होइन, त्यसलाई निष्कर्षमा पुर्याउने गरी पार्टीको पुनर्गठन गर्नुपर्छ।”
आफू पनि पार्टी महामन्त्रीको हैसियतले विगतका कमजोरीको भागेदार रहेको स्वीकार गर्दै उनले अब पार्टीलाई नयाँ ढंगले अघि बढाउनुको विकल्प नभएको स्पष्ट पारे।
प्रस्तावित विकल्पहरू:
- १५ औं महाधिवेशन –
- पुरानो क्रियाशील सदस्यता नवीकरण स्थगन
- निश्चित समयका लागि नयाँ सदस्यता वितरण
- साधारण सदस्यबाटै नयाँ नेतृत्व चयन
- विशेष महाधिवेशन –
- यदि पहिलो विकल्प सम्भव नभए
- १४ औं महाधिवेशनकै प्रतिनिधिहरूबाट विशेष महाधिवेशन
- नयाँ नेतृत्व चयन र पार्टी नीति, नियम, संरचनामा व्यापक सुधार
थापाले २०१२ सालमा सुवर्ण शमशेरले विराटनगरमा विशेष महाधिवेशनमार्फत बीपी कोइरालालाई सभापति बनाएको ऐतिहासिक घटनालाई स्मरण गर्दै अहिले पनि साहसिक कदम चाल्नुपर्नेमा जोड दिए।
थापाले अन्तमा भने:
“यो मेरो व्यक्तिगत विषय होइन, मभन्दा माथि पार्टी छ, तर पार्टीभन्दा माथि देश छ। यो अभियानका लागि म पार्टीको साधारण सदस्य मात्र भएर बस्न तयार छु।”