
रामेछापलाई काठमाडौंसँग छोटो दूरीमा जोड्ने खुर्कोटस्थित बेलिब्रिजको मर्मत कार्य सुरु गरिएको छ। पुलमा लचकपन देखिनु, नट–बोल्ट खुकुलो हुनु र पाता हल्लिन थाल्नुका कारण नेपाली सेनाले बिहीबारदेखि मर्मत सुरु गरेको हो।
खड्गदल गण रामेछापको समन्वयमा बर्दिबासस्थित श्री कालीसिद्धि गणको इन्जिनियरिङ युनिटले मर्मत कार्य अघि बढाइरहेको छ। सडक डिभिजन कार्यालय खुर्कोटका सब–इन्जिनियर होमेन्द्र कुमार यादवका अनुसार लुज भएका नट–बोल्टहरू कस्ने र आवश्यक परे नयाँ फेर्ने काम भइरहेको छ। उनका अनुसार एक–दुई दिनमै काम सकिनेछ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले यो नियमित मर्मत भएको र आकस्मिक क्षति नभएको बताए। उनका अनुसार मर्मतका क्रममा सवारी आवागमन केही समयका लागि रोकिएको छ।
यो बेलिब्रिजमा १५ टनसम्मको भारवाहक सवारी मात्र सञ्चालन गर्न मिल्ने भए पनि क्षमताभन्दा बढी भारका सवारी पार गराइने गरेको स्थानीयको आरोप छ। तर, नियमित अनुगमनमा त्यस्तो भेटिन नसकेको प्रजिअ थापाले स्पष्ट पारे।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ वेतिनी जोड्ने १०० मिटर लामो यो पुलको ५१ मिटर भाग गत वर्ष सुनकोशी बाढीले बगाएको थियो। त्यसपछि कात्तिक ६ गतेदेखि नेपाली सेनाले अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याएको हो।
करीब १८ करोड रुपैयाँ लागतमा निर्माण भएको मूल पुलले मन्थली–काठमाडौंको दूरी ७५ किलोमिटरले छोट्याएको छ। मर्मतका क्रममा सडक डिभिजन कार्यालय खुर्कोट र नेपाली सेनाबीच समन्वय भइरहेको छ।