
अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। अर्थमन्त्रीका रूपमा प्रयोग गर्न उपलब्ध गराइएको राहदानीको प्रयोजन समाप्त भएपछि उनले उक्त राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाएका हुन्।
खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिँदै अर्थ मन्त्रालयको प्रशासन महाशाखामार्फत राहदानी फिर्ता गरिएको बताएका छन्।
उनले फेसबुकमा लेखेका छन्, “मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं डीए०००२७१० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु।”
अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई अनुरोध गर्दै उनले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी औपचारिक रूपमा फिर्ता गरिएको जनाएका हुन्।
हाल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा खनाल अर्थमन्त्रीका रूपमा कार्यरत छन्। जनस्तरमा चर्चित ‘जेनजी आन्दोलन’पछि गठन गरिएको उक्त अन्तरिम सरकारमा विभिन्न सुधारका कदम चाल्ने प्रयास भइरहेको बताइएको छ।
कूटनीतिक राहदानी प्रायः उच्च पदस्थ सरकारी अधिकारी, मन्त्री तथा कूटनीतिक कार्यमा संलग्न व्यक्तिहरूलाई प्रदान गरिने विशेष प्रकारको राहदानी हो। यसको प्रयोग केवल सरकारी तथा कूटनीतिक प्रयोजनका लागि मात्र गर्न पाइन्छ।