
प्रधानमन्त्री कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारीको वृत्ति विकासमा असर नपर्ने गरी दरबन्दी मिलान गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री कार्यालयले पत्रमार्फत मन्त्रालयलाई सेवा प्रवाह कम भएका निकायबाट कार्यबोझ बढी रहेका निकायमा दरबन्दी मिलान गर्न सुझाएको हो।
गत भदौ ३१ गते सम्पन्न सचिवस्तरीय बैठकले २० प्रतिशतसम्म दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो। तर, सो निर्णयमा अस्पष्टता देखिएपछि प्रधानमन्त्री कार्यालयले स्पष्ट निर्देशन दिएको स्रोतले जनाएको छ।
निर्देशनमा भनिएको छ, “यसरी दरबन्दी मिलान गर्दा कर्मचारीको वृत्ति विकासमा कुनै असर नपर्ने गरी गर्नू।”