
निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जालमा अफवाह फैलाउने आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेका अनुसार, सोमबार राती रामचन्द्र ठाकुर नामक व्यक्तिको फेसबुकबाट निर्वाचनलाई असर पार्ने गरी भिडियो अपलोड र सेयर गरेर समाजमा भ्रम फैलाइएको भेटिएको थियो।
एसपी थेबेले जानकारी दिए अनुसार, रामचन्द्र ठाकुर इनरुवा नगरपालिका–३, महेन्द्रचौक बस्ने २७ वर्षीय युवक हुन्। उनलाई नेपाल प्रहरी साइबर ब्यूरोको प्राविधिक सहयोगमा प्रयोग गरिएको मोबाइल डिभाइससहित पक्राउ गरिएको हो।
“निर्वाचनजस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमार्फत झुट्टा तथा भ्रामक सामग्री प्रसारण गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइनेछ,” उनले भने।
प्रहरीले ठाकुरलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान जारी राखेको छ। यस कदमले निर्वाचनमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने उद्देश्य रहेको बताइएको छ।