Join our Channel

मकवानपुरको बेतिनीमा कार्यालय सहयोगीले स्थानीयको हत्या, मानसिक सन्तुलन गुमेको आशंका

बेतिनीमा कार्यालय सहयोगीले स्थानीयको हत्या, मानसिक सन्तुलन गुमेको आशंका

मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीमा रहेको स्वास्थ्य चौकीका कार्यालय सहयोगीले स्थानीय एक वृद्धको खुर्पा प्रहार गरी हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कुमार थापा (३५), बारा जिल्लाको निजगढ नगरपालिका–३, सिंगोलका बासिन्दा हुन्। उनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

हताकाे शिकार भएका व्यक्ति ५७ वर्षीय रामबहादुर वाइबा हुन्। प्रहरीका अनुसार उनी बिहान गाईबस्तुका लागि घाँस हाल्न नजिकैको गोठ जाँदै गर्दा थापाले पुरानो स्वास्थ्य चौकीको भवन नजिकैबाट पछाडिबाट खुर्पा प्रहार गरी हत्या गरेका थिए।

मानसिक असन्तुलन देखिएको थापामाथि अनुसन्धान

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जानकारी दिएको छ कि थापा मानसिक रूपमा असन्तुलन भएको जस्तो देखिएको छ। थापा केही समयदेखि ‘मान्छे काट्छु’ भन्ने खालका कुरा गर्दै हिँड्ने गरेको स्थानीयले बताएका छन्।

थापा पक्राउ परेपछि प्रहरीले सोधपुछ गर्दा पनि उनी मानसिक रूपमा सन्तुलनमा नरहेको जस्तो प्रतिक्रिया दिँदै आएका छन्। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a comment