
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाउने निर्णयको विरोध गर्दै पुनः आन्दोलन थालेका छन्।
यसअघि पनि ५ असारदेखि उनीहरूले आन्दोलन स्थगित गरेका थिए। सरकारले बजेट संशोधनको समयमा माग सम्बोधन गर्ने आश्वासन दिएपछि उनीहरूले आन्दोलन रोकेका थिए। तर, आशा अनुरूप माग पूरा नभएपछि व्यवसायीहरू पुनः आन्दोलनमा उत्रिएका छन्।
व्यवसायीहरूले सरकारलाई २ प्रतिशत विलासिता कर खारेज गर्न र बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने माग राख्दै आएका छन्। विगतमा १० लाखभन्दा माथिका सुनका गहनामा मात्रै विलासिता कर लाग्ने व्यवस्था थियो भने अब जुनसुकै मूल्यका सुन र सुनका गहनामा कर लाग्न थालेको छ।
बैंक तथा होलसेल पसलले पनि ढिक्का सुन बिक्री गर्दा २ प्रतिशत विलासिता कर तिर्नुपर्ने भएपछि व्यवसायीहरूलाई कम्तीमा ६ प्रतिशत कर तिर्नुपर्ने दबाब परेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य विकास सारडाले भने, “माग पूरा नभए आन्दोलन अझै सशक्त हुने छ।” उनले शुक्रबारबाट सबै सुनचाँदी पसल बन्द गरिएको जानकारी दिए।