
नेपाल टेलिकमले पोखरास्थित प्रादेशिक निर्देशनालयमा भएको जेन-जी आन्दोलनको क्रममा आगजनी र तोडफोडका कारण ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको जनाएको छ।
एक सार्वजनिक सूचना जारी गर्दै टेलिकमले चोरी भएका कार्डहरूको सिरियल नम्बर समेत सार्वजनिक गरेको छ। साथै, ती कार्डहरू प्रयोग नगर्नु, खरिद–बिक्रीमा संलग्न नहुनु र भेटिएमा नजिकको टेलिकम कार्यालय वा प्रहरीमा बुझाइदिनु आग्रह गरेको छ।
चोरी भएका कार्डहरूको विवरण
- रु. १०० दरका ६०,००० भन्दा बढी रिचार्ज कार्ड
- रु. ५०० दरका २०० थान रिचार्ज कार्ड
यी सबै भदौ २४ गते महेन्द्रपुलस्थित टेलिकम प्रादेशिक निर्देशनालयमा भएको आक्रमणमा लुटिएका हुन्।
टेलिकमले तोकिएका सिरियल नम्बरमा पर्ने कार्ड प्रयोग भएमा त्यो अवैध ठहरिने चेतावनी दिएको छ।