Join our Channel

पाल्पाको दोभानमा सडक भासिँदा तीन महिनादेखि सवारी ठप्प

पाल्पाको दोभानमा सडक भासिँदा तीन महिनादेखि सवारी ठप्प

तिनाउ गाउँपालिका–२, दोभानमा सडक भासिएपछि तीन महिनादेखि सवारीसाधन ठप्प छन्। दोभान–झ्याङला–हरियाली गाउँ जोड्ने सडकको जमुने र झ्याङलाबीचको बन्चरे पहाडमा सडक भासिएको छ। भासिएको सडकसँगै पहिरो खस्दा माछा पोखरी र धानखेतसमेत क्षतिग्रस्त भएका छन्।

झ्याङला टोल विकास संस्थाका अध्यक्ष लोकबहादुर केसीका अनुसार, दोभान नजिकै बन्चरे पहाडमा झन्डै १०० मिटर सडक भासिएको छ। पहिरो खस्दा गत जेठ २२ गतेपछि नै सवारीसाधन सञ्चालनमा आउन सकेको छैन।

‘तीन महिनादेखि सवारीसाधन चल्न सकेको छैन,’ उनले भने, ‘तल्लो भागमा दोभान खोलाले कटान गर्दै लगेकाले सडक भासिन रोकिएको छैन। स्थायी समाधानको पहल नहुँदा बासिन्दाले बारम्बार दुःख भोग्नुपरेको छ।’

सडक भासिएर ठप्प भएको कारण झ्याङला, बगाहा, पाल्टाङ्गे, खुल्खुले, भुताहा, हरियालीगाउँ, हापुर, महापुर, बेओरे र तोरीबारी लगायतका क्षेत्रका बासिन्दा पैदल एकदेखि तीन घण्टा हिँड्न बाध्य छन्। कतिपय ठाउँमा पैदल हिँड्न पनि मुश्किल छ।

बासिन्दाले भने, “मान्छे हिँड्नसमेत भासिएको स्थानमा सिँढी लगाएर जानुपर्छ। दैनिक खाद्यान्न र उत्पादन बोक्न पनि समस्या भएको छ।”

गत वर्ष पनि यही सडक भासिँदा तीन महिना सवारी ठप्प भएको थियो। यस वर्ष संघीय बजेटबाट १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। तिनाउ गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले बताए अनुसार, भासिएको सडक क्षेत्र मर्मत गर्न ७५ लाख खर्च हुने योजना अघि बढेको छ। वर्षायाममा पुनः भासिने सम्भावना भएकाले पानी पर्न छाडेपछि मात्र मर्मत कार्य पूरा गरी सवारी सञ्चालन मिलाउने तयारी गरिएको छ।

Leave a comment