Join our Channel

चुनावको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन

चुनावको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई तोकिएको मितिमा चुनाव सम्पन्न गर्न आवश्यक तयारी तत्काल अघि बढाउन निर्देशन दिएकी छन्। मंगलबार आयोगका पदाधिकारीहरूसँगको छलफलमा उनले फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, विश्वसनीय, मितव्ययी र सहभागितामूलक बनाउन सरकार पूर्ण रूपमा तयार रहेको स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले भनिन्–
“निर्वाचनका लागि आवश्यक जनशक्ति, बजेटलगायत सबै सहयोग नेपाल सरकार उपलब्ध गराउन तयार छ। तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु अन्तरिम सरकारको मुख्य जिम्मेवारी हो। त्यसका लागि सम्पूर्ण संयन्त्र प्रतिबद्ध भएर लाग्नेछन्।”

छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदानका लागि आवश्यक पर्ने मतपेटिकासहितका सामग्री पर्याप्त मौज्दात रहेको जानकारी दिए। अपुग सामग्री खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अपनाइने र निर्वाचन प्रक्रियालाई सहज बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम र सरोकारवालासँग निरन्तर संवाद र समन्वय गरिने उनले बताए।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, गृहमन्त्री ओमप्रकाश अर्याल र मुख्य सचिव एकनारायण अर्याल पनि उपस्थित थिए।

Leave a comment