
प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई राष्ट्रिय अनुष्ठानको रूपमा ग्रहण गर्न सबै पक्षलाई आग्रह गरेकी छन्। छठको शुभकामना दिँदै उनले फागुन २१ गते निर्धारण भएको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबैको सहकार्यमा जोड दिएकी छन्।
प्रधानमन्त्री कार्कीले भने, “सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन। आफ्ना अडान वा असन्तुष्टि भए पनि शान्तिपूर्ण तवरले राखेर आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो।”
उनले जेनेरेशन जेड (Gen Z) आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै निर्वाचनमा सबै पक्षको संवेदनशीलता र जिम्मेवारी बोध आवश्यक रहेको बताइन्। प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई राष्ट्रिय उत्सवको रूपमा ग्रहण गरी सहभागिता जनाउन सबैलाई आह्वान गरिन्।
प्रधानमन्त्री कार्कीले छठ पर्वलाई सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानकको रूपमा व्याख्या गर्दै भनिन्, “सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले तराई, पहाड र हिमाल जोड्ने सेतुको काम गर्दै आएको छ। पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले सबैमा सद्भाव र खुसीयाली फैलाओस्। अहिले हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ।”