
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आइतबार संसदमा चलिरहेको प्रतिनिधिसभा बैठकको क्रममा एक्कासी बैठक छाडेर बाहिरिएका छन्।
बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गम्भीर असन्तोष व्यक्त गर्दै सदनमा ‘दादागिरी शैली’मा कार्य सञ्चालन गरिएको आरोप लगाए। उनले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा सम्बन्धी विवादमा निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै राप्रपाले बैठक बहिष्कार गरेको जानकारी गराए।
शाहीले स्पष्ट रूपमा भने, “हामीले पहिले नै उठाएका गम्भीर मागहरू बेवास्ता गर्दै बैठक अघि बढाइएको छ, यस्तो वातावरणमा हामी बोल्दैनौं।”
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले पनि सदनको रोष्ट्रम घेरेर लगातार नाराबाजी जारी राखेका छन्। उनीहरूले समेत गृहमन्त्रीसँग जवाफ माग गर्दै सदनमा दबाब सिर्जना गरिरहेका छन्।
सांसदहरूको यो कदम पछिल्लो समय सरकारप्रति बढ्दो असन्तोष र भिजिट भिसा प्रकरणमा देखिएको विवादसँग जोडिएको विश्लेषण भइरहेको छ।