
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) बढ्दै गएपछि राष्ट्र बैंकले आज आइतबार २१ दिनका लागि ५० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट झिक्ने निर्णय गरेको छ।
अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत यो रकम झिक्न लागेको हो। बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। बोलकबोलमा भाग लिन न्यूनतम १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र यस निक्षेप संकलन बोलकबोलमा सहभागी हुन पाउनेछन्। खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले ब्याजदरमा अस्वाभाविक उतारचढाव रोक्न ‘ब्याजदर करिडोर’ सञ्चालनमा राखेको छ। करिडोर अनुसार, माथिल्लो सीमा (सिलिङ रेट) ६ प्रतिशत, मध्यम दर (पोलिसी रेट) ४.५ प्रतिशत र तल्लो सीमा (फ्लोर रेट) २.७५ प्रतिशत कायम गरिएको छ।
करिडोरको माध्यमबाट राष्ट्र बैंकले अन्तरबैंक ब्याजदरलाई नीतिगत दर वरिपरि राख्ने प्रयास गर्छ। यदि अन्तरबैंक दर तल्लो सीमातिर झर्छ भने विभिन्न उपकरणमार्फत बजारबाट पैसा झिकिन्छ। उल्टो अवस्थामा माथिल्लो सीमातिर नजिकिँदा राष्ट्र बैंकले बजारमा पैसा पठाउँछ। हाल साढे दुई वर्षयता अन्तरबैंक दर तल्लो सीमाभन्दा कम हुँदा राष्ट्र बैंकले विभिन्न उपायमार्फत पैसा तानिरहेको छ।
यस कदमले बैंक तथा वित्तीय संस्थामा तरलता सन्तुलन कायम राख्न, ब्याजदर स्थिर राख्न र अर्थतन्त्रमा अनावश्यक उतारचढाव रोक्न मद्दत पुग्ने राष्ट्र बैंकले जनाएको छ।