
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको मिति तय गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बुधबार धुम्वाराहीमा सम्पन्न भएको थियो।
बैठकले वर्तमान राजनीतिक अस्थिरता र देशलाई भूराजनीतिक चक्रव्यूहमा फस्दै गएको अवस्थालाई ध्यानमा राख्दै, देशलाई केन्द्रमा राखेर सबै राजनीतिक शक्तिहरूबीच राष्ट्रिय सहमति आवश्यक भएको निष्कर्ष निकालेको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार, बैठकले जेनजी समूह, राजनीतिक दलहरू र परम्परागत शक्ति संस्थाहरूबीच नवीन समझदारी र सार्थक संवाद अघि बढाउने आह्वान गरेको छ। यसै सन्दर्भमा अध्यक्ष लिङ्देनलाई पार्टीका मुद्दाहरू र राजनीतिक विकल्पहरूबारे औपचारिक संवाद गर्ने जिम्मेवारी दिइएको छ।
बैठकले निर्णय गरेको छ कि वर्तमान राजनीतिक अन्यौलका बाबजुद पनि राप्रपा प्रजातान्त्रिक प्रक्रियाबाट अलग नहुने छ।
त्यस्तै, बैठकले छठ पर्वपछि देशभर जनसंवाद कार्यक्रम सञ्चालन गर्ने र आगामी कार्तिक २७–२८ गते काठमाडौँमा केन्द्रीय कार्यसमितिको बैठक गर्ने निर्णय गरेको छ। उक्त बैठकले आगामी केन्द्रीय महाधिवेशनको मिति तय गर्ने पनि तय गरेको छ।
अनुशासन समितिको सिफारिस अनुसार, राप्रपा जुम्ला जिल्ला कार्य समितिका अध्यक्षसहित चार जना नेतालाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय पनि बैठकले गरेको छ।