
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गर्न र नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आफू निकट पदाधिकारीहरूसँग महत्वपूर्ण छलफल गरेका छन्।
शुक्रबार बिहान कोइरालाले आफ्नो विशालनगरस्थित सम्पर्क कार्यालयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग बैठक गरेका हुन्।
हाल नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र स्वरूपका विषयमा विवाद तीव्र हुँदै गएको छ। यही पृष्ठभूमिमा कोइरालाले निकट पदाधिकारीहरूसँग संभावित कार्ययोजना र पार्टी एकता कायम राख्ने उपायहरू बारे छलफल गरेको स्रोतले जनाएको छ।
उल्लेखनीय छ, विशेष महाधिवेशनको पक्षमा रहेका महामन्त्री गगन थापा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा अनुपस्थित रहेका थिए।