
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी नेतृत्व हस्तान्तरणको तयारीमा रहेका छन्। स्वास्थ्य अवस्था र बढ्दो राजनीतिक दबाबबीच देउवाले निकट उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिन सक्ने सम्भावना देखिएको छ।
गत भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’ मा गम्भीर घाइते भएपछि देउवा लामो समयदेखि उपचारमा थिए। करिब एक महिनापछि उनी सक्रिय राजनीतिमा फर्किएका छन् र हाल पार्टीका शीर्ष नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन्।
देउवाको आह्वानमा मंगलबार केन्द्रीय समितिको बैठक बोलाइएको छ, जहाँ उनले स्वास्थ्यले साथ दिएसम्म स्वयं उपस्थित भएर सम्बोधन गर्ने तयारीमा रहेको पारिवारिक स्रोतले जनाएको छ।
पार्टीभित्र अहिले मुख्य प्रश्न उठिरहेको छ — देउवाले नेतृत्व हस्तान्तरण कहिले र कसरी गर्छन्? देउवाको कार्यकाल दुई महिनामै समाप्त हुँदैछ, र विशेष परिस्थितिमा मात्र एक वर्ष थप्ने प्रावधान छ। देउवाले विगत वर्षदेखि नै राजनीतिबाट अवकाश लिने संकेत दिँदै आएका छन्।
कांग्रेसको विधान अनुसार एक व्यक्ति दुई कार्यकाल सभापति हुन सक्छ। देउवा १३औं र १४औं महाधिवेशनबाट सभापति निर्वाचित भएका थिए। अहिले देउवा कार्यवाहक सभापति तोक्ने मूडमा रहेको कांग्रेस निकट नेताहरू बताउँछन्।
स्रोतका अनुसार देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिने सम्भावना उच्च छ। कार्यवाहक तोक्ने अधिकार सभापतिसँग मात्रै रहेको र यसका लागि केन्द्रीय समितिको निर्णय आवश्यक नपर्ने भएकाले देउवाले सहज रूपमा त्यो जिम्मेवारी हस्तान्तरण गर्न सक्छन्।
देउवा अनुपस्थित रहँदा पनि खड्काले हाल पार्टीका अधिकांश बैठकको अध्यक्षता गरिरहेका छन्। उनले प्रदेश सभापति, मुख्यमन्त्री, संसदीय दलका नेता र शेखर कोइराला, कृष्ण सिटौला, गगन थापा, विश्वप्रकाश शर्मा, विमलेन्द्र निधि लगायत नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन्।
पार्टीभित्र अहिले महाधिवेशन वा विशेष महाधिवेशन गर्ने विषय मुख्य एजेन्डा बनेको छ।
प्रवक्ता प्रकाशशरण महतका अनुसार, “महाधिवेशन समयमै हुनेछ, नियमित नै हुनेछ।”
तर डा. शशांक कोइरालाले भने देउवालाई केन्द्रीय कमिटी विघटन गरी विश्वासिला नेतालाई कार्यवाहक तोक्ने सुझाव दिएका छन्।
त्यस्तै, केन्द्रीय सदस्य उदयशमशेर राणा र अन्य वरिष्ठ नेताहरूले पनि परिवर्तित राजनीतिक परिस्थितिमा देउवाले कार्यवाहक तोक्नु उचित हुने बताएका छन्।
देउवा निकट स्रोतका अनुसार, उनी अब “आराम गर्न चाहने र नेतृत्व हस्तान्तरण गर्न तयार” अवस्थामा पुगेका छन्। यसअघि सुशील कोइरालाको निधनपश्चात् रामचन्द्र पौडेलले कार्यवाहकको जिम्मेवारी पाएका थिए। त्यसबाहेक कांग्रेसमा प्रायः विश्वासपात्र नेतालाई मात्र कार्यवाहक बनाउने परम्परा रहँदै आएको छ।
अबको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति र कार्यवाहक तोक्ने विषयमा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।