
नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्रीय छनोट अन्तर्गतको सुपर सिक्स चरणमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई १ रनले पराजित गर्दै रोमाञ्चक जित दर्ता गरेको छ।
एशोसियट राष्ट्रबीचको “एल क्लासिको” मानिने यो खेलमा नेपालले अन्तिम क्षणसम्म रोमाञ्चक प्रदर्शन गर्दै जित निकालेको हो।
ओमानको अल अमेरात क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो।
जवाफमा लक्ष्य पछ्याउने यूएईले पनि दमदार प्रदर्शन गरे पनि निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमा रोकिएको थियो।
यूएईले पहिलो विकेट चाँडै गुमाएपछि कप्तान मोहम्मद वासिम मात्र १ रनमा आउट भए। तर अलिशान सराफु र जोनाथन फिगीको ८१ रनको साझेदारीले यूएईलाई खेलमा फर्काएको थियो।
तर सराफु आउट भएपछि यूएईको ब्याटिङ क्रम कमजोर बन्यो। अन्तिम ओभरमा ३ बलमा ३ रन चाहिएको अवस्थामा आक्रमक ब्याटर ध्रुव परासर (१९ रन) दीपेन्द्र सिंह ऐरीको बलमा सन्दीप जोराले क्याच लिएपछि खेल नेपालको पक्षमा फर्कियो। त्यसपछि हैदर अली रनआउट भएसँगै नेपालले १ रनको जित सुरक्षित गर्यो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने सन्दीप लामिछाने, सोमपाल कामी र गुलशन झाले १–१ विकेट हात पारे।
ब्याटिङतर्फ नेपालका ओपनर आसिफ शेखले ५१ रन (४७ बल, ४ चौका, १ छक्का) बनाए भने कुशल भुर्तेलले २८, कप्तान रोहित पौडेलले २०, गुलशन झाले १५ (५ बलमा २ चौका र १ छक्का) रन जोडे। अन्त्यमा सन्दीप जोरा (४) र सोमपाल कामी (६) अविजित** रहे।
यूएईका लागि मोहम्मद रोहिद, हैदर अली, जाहिद अली, हर्षिक कौशिक र ध्रुव परासरले १–१ विकेट लिए।
यो जितसँगै नेपालको विश्वकप खेल्ने सम्भावना अझ बलियो बनेको छ। नेपालले यसअघि समूह ‘बी’ अन्तर्गत जापान र कुवेतलाई हराउँदै अविजित रूपमा सुपर सिक्समा प्रवेश गरेको थियो। यूएई पनि समूह ‘ए’बाट अविजित रहँदै सुपर सिक्समा आएको हो।
नेपालले अब सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ।