Join our Channel

गोली हान्नेको कुरा प्राथमिक : सुदन गुरुङ

गोली हान्नेको कुरा प्राथमिक : सुदन गुरुङ

हामी नेपालका संयोजक सुदन गुरुङले जेन-जी आन्दोलनको मुख्य प्राथमिकता गोली हान्ने र आदेश दिनेहरूलाई न्याय दिलाउनु हुनुपर्नेमा जोड दिएका छन्। गुरुङले सिंहदरबार जलेको विषयलाई प्राथमिकता दिएर सहिदको बलिदान ओझेलमा पार्ने प्रयास भइरहेको आरोपसमेत लगाए।

सुदनका भनाइ

बिहीबार माइतीघर मण्डलमा जेन-जी आन्दोलनका सहिदहरूको सम्झनामा आयोजित कार्यक्रम सम्बोधन गर्दै गुरुङले भने,

“मानिसहरू सिंहदरबार जल्यो भनेर चिन्ता गरिरहेका छन्, तर सिंहदरबार त हजार वटा बनाउन सकिन्छ। तर एउटा आमाको कोख रित्याएर गएको छोरालाई कसले फर्काउन सक्छ ? करोड होइन, देशै बेचे पनि त्यो नागरिक जिउँदो फर्किँदैन।”

उनले थपे,

“हाम्रो प्राथमिकता गोली हान्ने मान्छेबारे कुरा गर्नु हो, सिंहदरबार जल्नु दोस्रो कुरा हो।”

आन्दोलनको उपलब्धि

गुरुङले जेन-जी आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि सरकार र कर्मचारीतन्त्रलाई जनताप्रति उत्तरदायी र डराउन बाध्य पार्नु रहेको बताए। उनले भने,

“नेपालको इतिहासमा यो पहिलो पटक हो, जब सरकार नेपाली जनतासँग डराएको छ। नेपाली जनताले तैँले के गरिस् ? भनेर मन्त्रीलाई प्रश्न गर्न पाएको छ।”

अन्तिम लडाइँको चेतावनी

गुरुङले नेताहरूले जनतालाई आपसमा लडाएर पुरानै दलहरू ठीक हुन् भन्ने भ्रम सिर्जना गर्न खोजेको दाबी गरे।

“यो लडाइँ आर कि पारको हो, यो अन्तिम लडाइँ हो। जबसम्म देश बन्दैन, तबसम्म हामी लड्नुपर्छ।”

Leave a comment