
दोलखाको यलुङ री हिमालमा परेको हिमपहिरोमा परेका दुई जना विदेशी आरोहीको शव फेला परेको छ।
प्रहरीका अनुसार, इटालीका पाउलो कोको र फ्रान्सका क्रिस्चियन आन्द्रे मनफ्रेडीका शव बुधबार उद्धार टोलीले फेला पारेका हुन्।
दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतोले दुवै विदेशी आरोहीको शव सुरक्षित रूपमा निकालिएको जानकारी दिएका छन्।
यसअघि मंगलबार नेपाली पथप्रदर्शक सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ का मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङको शव फेला परेको थियो।
प्रहरीका अनुसार, उनीहरू सोमबार बिहान यलुङ री हिमाल आरोहणका क्रममा परेको हिमपहिरोमा परेका थिए। दुर्घटनापछि तत्काल उद्धार टोली खटिए पनि प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाइ भएको थियो।
यलुङ री हिमाल दोलखाको गौरीशंकर हिमाल श्रृंखलाभित्र पर्ने लोकप्रिय आरोहण गन्तव्य हो। पछिल्ला वर्षहरूमा विदेशी आरोहीहरूको संख्यामा वृद्धि भए पनि मौसम अस्थिरताका कारण जोखिम बढ्दै गएको स्थानीयहरूको भनाइ छ।