
नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकम) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीलाई देशकै पहिलो नम्बरको राजनीतिक शक्ति बन्नबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
भृकुटीमण्डपमा आयोजित एकता सभामा बोल्दै प्रचण्डले दस घटक पार्टीको एकतालाई ऐतिहासिक क्षण भन्दै देशको राजनीतिक दिशामै नयाँ युगको सुरुवात भएको बताए।
उनले भने, “हामी इतिहासमा ठूला भूमिका खेलेका पात्र हौं। अब यो पार्टीलाई एक नम्बर बन्न कसैले रोक्न सक्दैन। कसैलाई टाउको दुख्ला, कसैलाई निन्द्रा नलाग्ला, तर यो यात्रा रोकिँदैन।”
प्रचण्डले पार्टीभित्र नेतृत्वका पदमा बसिरहनुपर्ने चाहना नभएको स्पष्ट पार्दै नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै लैजाने बताएका छन्। उनका अनुसार, “हामी पदका लागि होइन, विचार र परिवर्तनका लागि काम गर्छौं। अब नयाँ पुस्ताले देशको बागडोर सम्हाल्नुपर्छ।”
उनले गल्ती र कमजोरी सच्याउने दृढ संकल्प व्यक्त गर्दै भने, “हामीलाई मृत्युको डर छैन। हामीलाई राष्ट्र र लोकतन्त्र बचाउने चिन्ता छ, व्यक्तिगत स्वार्थ केही छैन।”
प्रचण्डले नेपाल सबैको साझा देश भएकाले सबै दलसँग मिलेर राष्ट्र बचाउने अभियानमा हातेमालो गर्न तयार रहेको बताए। उनले दस पार्टीको एकतालाई अभूतपूर्व भन्दै नयाँ शक्ति निर्माणको शुरुआत भएको उल्लेख गरे।
उनका अनुसार, “१० घटक मिलेको इतिहास नेपालमा अहिलेसम्म छैन। यो अविस्मरणीय दिन हो।”
त्यस्तै, उनले जेनजी आन्दोलनको योगदान उल्लेख गर्दै भने, “जेनजी आन्दोलनले हाम्रो कमजोरी उजागर गर्यो र सच्चिने मौका दियो। भ्रष्टाचारविरुद्ध युवाले उठाएको आवाज नै आजको एकताको प्रेरणा हो।”
अन्त्यमा, प्रचण्डले पार्टी र राज्य दुवैमा युवाको भावना र आवश्यकता उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।