
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रमाणमा आधारित, प्रविधियुक्त र प्रभावकारी बनाउन आग्रह गरेका छन्। आज काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित अनुसन्धानकर्ता प्रहरी र सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
प्रधानमन्त्री ओलीले भने, “अनुसन्धान र अभियोजन प्रक्रियामा स्पष्टता र निष्पक्षता हुनुपर्छ ताकि पीडितले न्याय पाउन सकोस् र दोषी सजाय पाउन। प्रविधिको प्रयोग गर्दै प्रमाणहरूसहित न्याय सम्पादन गर्ने प्रणाली बनाउनुपर्छ।” उनले समाजमा अन्याय नहोस् भनेर समयानुकूल कानुन निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको समेत बताए।
उनले अनुसन्धान र अभियोजनमा संलग्न प्रहरी तथा सरकारी वकिलहरूलाई स्रोत, साधन र सेवा सुविधासहित सक्षम र इमानदार बनाइने प्रतिबद्धता समेत जनाए। “प्रहरी निष्पक्ष र पारदर्शी हुनुपर्छ,” उनले थपे, “सरकारले आवश्यक सेवा सुविधा उपलब्ध गराउने छ।”
प्रधानमन्त्री ओलीले अपराधीहरू प्रविधिको प्रयोग गरेर अपराध ढाकछोप गर्ने प्रयास गर्ने भएकाले प्रहरीलाई नयाँ प्रविधिसहितको स्रोतसाधनसंपन्न बनाइनुपर्ने उल्लेख गरे। त्रुटीरहित अनुसन्धानबाट मात्र सत्य उजागर हुने र न्याय पथमा सही निर्णय लिन सकिने उनले बताए।
गृहमन्त्री रमेश लेखक र महान्यायाधिवक्ता रमेश बडाल समेत सहभागी उक्त सम्मेलन दुई दिनसम्म चल्नेछ र अन्त्यमा घोषणापत्र जारी गरिने छ।