
कैलाली जिल्लाको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा करिब ९ करोड रुपैयाँको अनियमितता भएको खुलासा भएको छ। सामाजिक अभियान समूहका अनुसार गाउँपालिका भित्रका सामान्य जनतालाई झुक्याई ठगी गरिएको छ भने एउटै नागरिकता नम्बर प्रयोग गरी दोहोरो, तेहोरो, यहाँसम्म की चौथी पटकसम्म भत्ता निकासा गरिएको आरोप लागेको छ।
सन् २०७४/०७५ देखि २०७७/०७८ सम्मको समयमा भएको भनिएको भत्ताघोटालाको आरोप अभियानका संयोजक कृण्ण सोडारीले सार्वजनिक गरेका हुन्। उनले यो विषयमा प्रमाणसहित २०७९ साउनमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरमा उजुरी दिएका थिए। तर, अहिलेसम्म कुनै ठोस कारबाही वा अनुसन्धान टुंगिएको जानकारी नआएको सोडारीले बताए।
सोडारीका अनुसार, वडा अध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेम बुढाले मिलेर सामाजिक सुरक्षा भत्ताको नाममा करिब ८ करोड ९६ लाख रुपैयाँ हिनामिना गरेका छन्। उनका अनुसार, फरक नाम र एउटै नागरिकता नम्बर प्रयोग गरी भत्ता निकालिएको छ, साथै मृतकको नाममा पनि भत्ता लिइएको छ।
उक्त उजुरी पछि २०७९ साउनमा कञ्चनपुर शाखाबाट काठमाडौं अख्तियार केन्द्रीय कार्यालयमा २०८१ जेठमा स्थानान्तरण गरिएको हो। तर, अहिलेसम्म अनुसन्धान अघि बढेको देखिदैन। प्रमाण नष्ट हुने र दोषीहरू भाग्ने जोखिम रहेको भन्दै उनले छिटो छानबिन र विशेष अदालतमा मुद्दा दर्ताको माग गरेका छन्।
अभियान टोलीले २०८० भदौ ४ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत भेटेर भत्ताघोटालाको प्रतिवेदन र प्रमाण बुझाएका थिए। तर गृह मन्त्रालयबाट पनि खास सुनुवाइ नभएको उनीहरूको गुनासो छ।
“हामीले ठोस प्रमाण दिएका छौं,” सोडारीले भने, “एउटै नागरिकता नम्बरबाट चार पटकसम्म भत्ता लिएको प्रमाण छ। मृतकको नाममा भत्ता तिरेको पनि भेटिएको छ।”
अब सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण आवश्यक भएको भन्दै भ्रष्टाचारविरुद्धको सामाजिक अभियानले तत्काल मुद्दा दर्ता र कारबाहीको माग गरेको छ।