Join our Channel

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्रै गर्नुपर्ने डा. शेखर कोइरालाको माग

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्रै गर्नुपर्ने डा. शेखर कोइरालाको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन आगामी २०८३ सालको मंसिर महिनाभित्रै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले निर्धारित मितिमा अधिवेशन नगरे पार्टीलाई नोक्सान हुने चेतावनी दिएका हुन्।

“म पार्टीको महाधिवेशन समयमै हुनुपर्छ भन्ने पक्षमा दृढ छु,” उनले भने, “महाधिवेशन ढिलो हुँदा कांग्रेसलाई फाइदा होइन, उल्टै घाटा हुने स्थिति आउँछ।”

उनले विशेष गरी २०८४ सालको आमनिर्वाचनअघि महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। कोइरालाका अनुसार स्थानीय, प्रदेश र संघीय तहका निर्वाचनहरू निर्धारित समयमा हुने भएकाले संगठनात्मक तयारी सुरु गर्न अब ढिलो गर्नु हुँदैन।

कार्यक्रममा उनले तनहुँ जिल्ला विगतमा नेपाली कांग्रेसको एक बलियो संगठनात्मक आधार भएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको टिप्पणी गरे। “तनहुँ पहिले बलियो जिल्ला थियो तर अहिले त्यो हैसियत खुम्चिएको छ,” उनले भने, “हामी सबै नेताकार्यकर्ताले पुनः संगठन सुदृढ बनाउन गम्भीर भएर लाग्नुपर्छ।”

कोइरालाले पार्टीभित्रको एकता, अनुशासन र समयमै नेतृत्व परिवर्तन हुनुपर्ने आवश्यकता समेत जोड दिए।

Leave a comment