
चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आक्रमणबाट प्रभावित ४१२ वटा घटनाका पीडित परिवारलाई राहतस्वरूप १ करोड ३३ लाख रुपैयाँ वितरण गरेको छ।
निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रका बासिन्दाहरूलाई गत साउनदेखि चैत महिनासम्म वन्यजन्तुले आक्रमण गरेपछि उक्त राहत रकम प्रदान गरिएको हो। निकुञ्जका सूचना अधिकारी अविनास थापाका अनुसार, मृत्यु भएका ९ जनाका परिवारलाई जनही १० लाखका दरले जम्मा ९० लाख रुपैयाँ, घाइते २७ जनाको उपचारका लागि १६ लाख ९३ हजार रुपैयाँ र बाली क्षतिको लागि २४५ वटा घटनामा १४ लाख १७ हजार रुपैयाँ राहत रकम दिइएको हो।
थापाका अनुसार, निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र हुने यस्ता घटनामा मृत्युअनुसार १० लाख रुपैयाँसम्म राहत दिने व्यवस्था छ भने घाइतेको उपचार खर्च र बाली नष्ट भएमा पनि क्षतिपूर्ति प्रदान गरिन्छ।
यसरी राहत वितरण गर्दा प्रभावित परिवारमा थोरै भए पनि आर्थिक सहुलियत पुग्ने विश्वास गरिएको छ।