Join our Channel

हेडिङ्ले टेस्ट: डकेटको विस्फोटक ब्याटिङ, इंग्ल्यान्डको ऐतिहासिक जित

हेडिङ्ले टेस्ट: डकेटको विस्फोटक ब्याटिङ, इंग्ल्यान्डको ऐतिहासिक जित
Getty Images

इंग्ल्यान्डले हेडिङ्लेमा भएको पहिलो टेस्टमा भारतलाई ५ विकेटले हराउँदै पाँच टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ। यो जित इंग्ल्यान्डका लागि नाटकीय र ऐतिहासिक दुवै रह्यो। विशेषगरी बेन डकेटको आक्रामक १४९ रनले इंग्ल्यान्डलाई जितको आधार दिएको थियो।

३७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले पाँचौं दिनको अन्तिम सत्रमा ५ विकेट गुमाउँदै ३७३ रन बनाउँदै लक्ष्य भेट्टायो। ज्याक क्राउलीसँग पहिलो विकेटको लागि डकेटले १८८ रनको साझेदारी गरे।

टेस्टको अन्तिम चरणमा जेमी स्मिथले नटआउट ४४ रन बनाउँदै छक्का प्रहारसहित खेल समाप्त गरे। जो रुट पनि ५३ रनमा नटआउट रहे।

पाँच शतक बनाएर हार्ने पहिलो टिम: भारत

क्रिकेटको इतिहासमै पहिलोपटक भारत यस्तो टिम बन्यो जसले एउटै टेस्टमा ५ शतक बनाएर हार व्यहोर्नुपर्‍यो। भारतको दुबै इनिङ्समा सुरुआत राम्रो भए पनि तल्लो क्रमले अपेक्षित प्रदर्शन गर्न सकेन।

  • पहिलो इनिङ्समा: भारतले ४१ रनमै ७ विकेट गुमायो
  • दोश्रो इनिङ्समा: ३१ रनमै ६ विकेट पतन

इंग्ल्यान्डका जोश टङ्गले भारतको पुछारका ब्याटरहरूलाई आउट गर्न मुख्य भूमिका खेले। उनले बलिङका क्रममा आफ्नो आक्रामक शैलीले टेस्टको रुख इंग्ल्यान्डतर्फ फर्काए।

ऋषभ पन्तको चमत्कारी पुनरागमन

भारतका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले दुवै इनिङ्समा शतक बनाएर असाधारण प्रदर्शन गरे।

  • पहिलो इनिङ्स: १३४ रन
  • दोश्रो इनिङ्स: ११८ रन

यो उपलब्धिसँगै उनी टेस्टको दुवै इनिङ्समा शतक बनाउने जिम्बावेका एन्डी फ्लावरपछिका पहिलो विकेटकिपर बने। सन् २०२२ मा भयानक कार दुर्घटनाबाट बचेका पन्त करिब १५ महिना क्रिकेटबाट टाढा थिए। त्यस्तो अवस्थाबाट फर्केर यस्तो प्रदर्शन गर्नु साँच्चिकै प्रेरणादायक रह्यो।

हेडिङ्ले : जहाँ चमत्कार सम्भव हुन्छ

हेडिङ्ले मैदानमा विगतमा पनि यस्तै ऐतिहासिक टेस्ट खेलहरू देखिँदै आएका छन्:

  • १९८१ मा: इयान बोथामको १४९ रन र बल विलिसको ८ विकेटले इंग्ल्यान्डले अस्ट्रेलियामाथि जित दियो।
  • २०१९ मा: कप्तान बेन स्टोक्सको नटआउट शतकले इंग्ल्यान्डले एक विकेटको रोमाञ्चक जित हात पायो।

र अहिले २०२५ मा फेरि यो मैदानमा अर्को अद्भुत क्षण थपिएको छ।

Leave a comment