Join our Channel

दाङमा २३ सुकुम्बासी परिवारलाई पहिलोपटक लालपुर्जा, तीन पुस्ताको पर्खाइ समाप्त

दाङमा २३ सुकुम्बासी परिवारलाई पहिलोपटक लालपुर्जा, तीन पुस्ताको पर्खाइ समाप्त

दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ३ स्थित कान्छिगाउँका २३ वटा भूमिहीन सुकुम्बासी परिवारले पहिलोपटक जग्गाको लालपुर्जा प्राप्त गरेका छन्। भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लामा पहिलोपटक जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै १३ कठ्ठा जग्गा ती परिवारका नाममा दर्ता गराएको हो।

बुधबार आयोजित विशेष कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगर प्रमुख जोगराज चौधरी, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत र नगर उपप्रमुख लक्ष्मी योगीले संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरेका थिए।

यसअघिको २०८२ जेठ ११ गते आयोगको बैठकले सुकुम्बासी परिवारलाई जग्गा दिने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा कान्छिगाउँका २३ घरधुरीलाई ८ धुरदेखि १ कठ्ठासम्मको बसोबासका लागि लालपुर्जा दिइएको हो।

तीन पुस्तादेखि लालपुर्जाविहीन जीवन

जग्गा अभावका कारण पीडित यी परिवारहरूले पहिलोपटक कानुनी रूपमा जमिनको स्वामित्व पाउँदा अत्यन्त खुशी व्यक्त गरेका छन्। केही परिवार त यस्तो थिए जसको नाममा एक धुर जमिन पनि थिएन। यस्ता २३ परिवारको नाममा जग्गा दर्ता भएपछि उनीहरूको भविष्यमा आशाको किरण देखिएको छ।

लालपुर्जा प्राप्त गर्ने केही व्यक्तिहरू:
गोचान्दर चौधरी, ठग्नी चौधरी, कालु चौधरी, विदेशी चौधरी, रोरु चौधरी, रामप्रसाद चौधरी, मिनाकुमारी चौधरी, गुरुप्रसाद चौधरी, शिवशंकर चौधरी, रामकुमारी चौधरी, सरीता चौधरी, हरिप्रसाद चौधरी, झलकराम चौधरी, सुनिता चौधरी, कमल चौधरी, अशोककुमार चौधरी, रामकली चौधरी, ठगिराम चौधरी, शहाविर चौधरी, कल्लुराम चौधरी, शेरु चौधरी, कङलु चौधरी र सुनिता चौधरी।

अधिकारीहरूको धारणा

केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले तोकिएको समयसीमा भित्र सबै भूमिहीन, सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने सरकारको प्रतिबद्धता दोहोर्याए।

नापी कार्यालय दाङका प्रमुख पुरण चौधरी, लमहीका निवर्तमान नगरप्रमुख कुलबहादुर केसी, संयुक्त राष्ट्र संघीय मानव बसोवास कार्यक्रमकी नेपाल प्रमुख प्रज्ञा प्रधानलगायतले जग्गा हस्तान्तरणले वास्तविक नागरिक अधिकार स्थापित गर्ने प्रयासले सार्थकता पाएको बताए।

Leave a comment