
विश्वकै ठूलो सामाजिक सञ्जाल कम्पनी मेटा (Meta) फेरि एकपटक प्रयोगकर्ताको गोपनीयतामाथि प्रश्न उठाउने गरी विवादमा परेको छ। फेसबुक र इन्स्टाग्राम जस्ता प्लेटफर्ममार्फत प्रयोगकर्ताका सार्वजनिक फोटो प्रयोग गरेर AI मोडेल (Meta AI) प्रशिक्षण दिएको विषय सार्वजनिक भइसकेको छ। तर अब मेटा झनै गम्भीर कदम चाल्दैछ – अब प्रयोगकर्ताको मोबाइल ग्यालरीमै पहुँच खोजिरहेको छ, जसमा अप्रकाशित (शेयर नगरिएका) फोटोहरू पनि समावेश हुन्छन्।
TechCrunch ले प्रकाशित गरेको रिपोर्ट अनुसार, केही फेसबुक प्रयोगकर्तालाई स्टोरी अपलोड गर्दा “cloud processing” भन्ने नयाँ विकल्प देखिएको छ। यो सुविधा सक्रिय गरेमा मेटाले मोबाइलको क्यामेरा रोल नियमितरूपमा स्क्यान गरी फोटोहरू आफ्नो क्लाउडमा अपलोड गर्न पाउनेछ। फेसबुकको दावी अनुसार यस सुविधाबाट प्रयोगकर्तालाई फोटो कोलाज, बर्थडे सुझाव, इभेन्ट रिक्याप, AI फिल्टरजस्ता ‘क्रिएटिभ आइडिया’ प्रदान गरिनेछ।
सुनिनमा राम्रो लागे पनि यसको भित्री पक्ष निकै संवेदनशील छ। प्रयोगकर्ताले यो सुविधा स्वीकार गरेपछि मेटाले निजी फोटोहरूको गहिरो विश्लेषण गर्नेछ — अनुहारका विशेषता, वस्तुहरू, फोटोको मिति र लोकेसनजस्ता मेटाडेटासमेत प्रयोग गरी आफ्नो AI प्रणालीलाई अझ सक्षम बनाउने प्रयास हुनेछ।
मेटाले भनेको छ कि यो ‘opt-in’ सुविधा हो – प्रयोगकर्ताले चाहेमा बन्द गर्न सक्नेछन्। तर मेटाको अघिल्लो रेकर्ड हेर्दा धेरै गोपनीयता विशेषज्ञ र प्रयोगकर्ता सशंकित छन्।
मेटाले यसअघि नै सन् २००७ यता फेसबुक र इन्स्टाग्राममा सार्वजनिक रूपमा पोस्ट भएका वयस्क प्रयोगकर्ताका सामग्रीहरू AI प्रशिक्षणका लागि प्रयोग गरेको बताइसकेको छ। तर “सार्वजनिक” भन्ने शब्दको प्रस्ट व्याख्या गरिएको छैन। त्यसैले नयाँ क्लाउड प्रोसेसिङ फिचर अन्तर्गत रहेका अप्रकाशित फोटोहरू पनि भविष्यमा प्रयोग हुने आशंका प्रबल छ।
The Verge का अनुसार, Meta AI का कार्यकारीहरूलाई सोध्दा उनीहरूले अहिलेका लागि ती फोटोहरू AI प्रशिक्षणमा प्रयोग नगरिएको बताए। तर भविष्यमा गर्ने वा तिनमा अधिकार राख्ने भन्ने सवालमा स्पष्ट उत्तर नदिएको उल्लेख गरिएको छ।
कसरी जोगिने?
फेसबुकको सेटिङ्समा गएर “Cloud Processing” फिचरलाई बन्द गर्न सकिन्छ। मेटाको भनाइ अनुसार यसलाई अफ गरेपछि क्लाउडमा रहेका अप्रकाशित फोटोहरू ३० दिनभित्र मेटाइनेछन्।
तर, यस्तो सुविधा “राम्रो आइडिया” को नाममा ल्याइनु र प्रयोगकर्तालाई सूक्ष्म रूपमा आफ्नो निजी डाटाको पहुँच दिन बाध्य पारिनु गम्भीर चिन्ताको विषय बनेको छ।
निष्कर्ष:
AI को प्रयोगद्वारा टेक्नोलोजी दिनप्रतिदिन सहज बन्दै गएको भए तापनि मेटाजस्ता कम्पनीहरूले प्रयोगकर्ताको डाटामा कति हदसम्म पहुँच राख्न सक्ने भन्ने सवाल फेरि उठेको छ। यसले ‘यूजर-असिस्ट’ र ‘डाटा एक्स्ट्रयाक्सन’ बीचको सीमाना झन् धमिलिएको देखिन्छ।