
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुप्रतिक्षित पञ्चेश्वर जलविद्युत् आयोजना अब निकट भविष्यमै अघि बढाउने बताएका छन्।
शनिबार राजधानीमा आयोजित मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महाकाली सन्धिको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रस्ट पारेका हुन्।
उनले भने, “महाकाली सन्धि त्यो बेला राष्ट्रवादको झण्डा देखाएर विवादित बनाइयो, तर त्यो गलत प्रचार थियो। अहिले सबै दलहरु कार्यान्वयनकै पक्षमा छन्।”
ओलीका अनुसार सरकारले अब छिट्टै महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर आयोजना अघि बढाउने तयारी गरिरहेको छ।
“हामी सम्भव भएसम्म छिटो सन्धि कार्यान्वयन गरेर आयोजना अघि बढाउँछौं,” प्रधानमन्त्री ओलीले बताए, “त्यस सन्धिअन्तर्गत हामी बिजुलीको पैसा लिइरहेका छौं। चाँदनी दोधारामा १० क्युमेक्स पानी ल्याउने काम पनि म फेरि अघि बढाउँछु।”
प्रधानमन्त्री ओलीले एमाले राष्ट्रहित, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको मामिलामा कहिल्यै सम्झौता नगर्ने पार्टी भएको दाबी गरे।
“हामीले कुनै नदी बेचेका छैनौं। हामी देश बेच्नेलाई समर्थन गर्दैनौं,” उनले भने।
यसैबीच प्रधानमन्त्री ओलीको यस घोषणालाई पञ्चेश्वर आयोजनाको वर्षौंदेखिको स्थगनमा नयाँ आशाको रूपमा हेरिएको छ। भारतसँग सहकार्यमा बन्ने यो जलविद्युत् परियोजना नदी जल उपयोग र उर्जामा ठूलो क्रान्ति ल्याउने विश्वास गरिएको छ।