Join our Channel

नेपाल अपराजित रहँदै सेमिफाइनलमा, भुटानलाई २९८ रनले हरायो

नेपाल अपराजित रहँदै सेमिफाइनलमा, भुटानलाई २९८ रनले हरायो

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनको विशाल अन्तरले पराजित गर्दै अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियाको सेलांगर ट्रफमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रनको विशाल स्कोर बनायो। नेपालको लागि रौनक श्रीवास्तवले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रनको शानदार शतकिय पारी खेले। उनी अन्तिम ओभरको चौथो बलमा क्याच आउट भए। जोए थापाले पनि ६१ रनमा अविजित रहँदै योगदान दिए।

नेपालले दिएको ३५९ रनको चुनौती पछ्याउँदै भुटानको टिम ३२.४ ओभरमा मात्र ६० रनमा समेटियो। भुटानका लागि छिरिङ दावाले १४ रन बनाए भने अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालको बलिङ उत्कृष्ट रह्यो। कप्तान विपिन प्रसाद शर्माले ४ विकेट लिँदा, सुयोग भट्टराई र सचिन भट्टले २–२ विकेट लिए।

यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई क्रमशः ६ विकेट, ९ विकेट र ३७० रनले हराएको थियो।

समूह ए मा अपराजित रहँदै नेपाल शीर्ष स्थानमा रहँदा, समूह बी बाट हङकङ शीर्ष र मलेसिया उपविजेता बनेका छन्। सेमिफाइनल खेलहरू बिहीबार हुनेछन् र फाइनल जुलाई ५ मा खेलिनेछ। नेपाल यस प्रतियोगिताको साविक विजेता समेत हो।

Leave a comment