Join our Channel

नेपालका १४८ जातका चामल : सहरमा रैथाने चामलको बढ्दो क्रेज

नेपालका १४८ जातका चामल : सहरमा रैथाने चामलको बढ्दो क्रेज

अहिले देशभर रोपाइँको चटारो छ । किसानहरू खेतमा हाइब्रिडदेखि रैथाने जातका धान रोप्नमा व्यस्त छन् । तर बजारमा भने रैथाने चामलको मूल्य निकै फरक देखिएको छ । अनलाइन सपिङदेखि डिपार्टमेन्ट स्टोरसम्म रैथाने चामलका भाउ आकाशिएका छन् ।

उदाहरणका लागि, जुम्ली मार्सी चामल भाटभटेनीमा प्रतिकिलो ३८० रुपैयाँमा बिक्री भइरहेको छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोही चामल प्रतिकिलो २३० रुपैयाँमा बेचिरहेको छ ।

त्यस्तै, काला नमक चामल अनलाइनमा प्रतिकिलो ३०० रुपैयाँदेखि विभिन्न प्लेटफर्ममा २२० देखि २८० रुपैयाँसम्ममा पाइन्छ । जेठो बूढो चामल पनि फरक मूल्यमा बिक्री भइरहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार स्वास्थ्यप्रति सचेत नागरिकहरूले रैथाने चामललाई बढी प्राथमिकता दिन थालेका छन् । “रैथाने चामलमा पौष्टिकताका साथै विशेष स्वाद पनि हुने भएकाले माग बढेको छ,” कम्पनीका प्रमुख भीम थापाले बताए ।

रैथाने चामल उत्पादन धेरै नहुँदा यसको मूल्य महँगो हुने गरेको छ । डोटीको जोरायल बासमती, जुम्लाको मार्सी, कास्कीको जेठो बूढो, समुद्र फिनी, रानी घैया, हुम्लाको चिनो, काला नमकलगायत चामल बजारमा धेरै रुचाइएका छन् ।

तर सरकारले यी चामलको समर्थन मूल्य तोकेको छैन । जसका कारण मूल्य अनलाइन र स्टोरहरूमा फरक पर्छ ।

हाल बजारमा काला नमक चामल २२५ देखि ३०० रुपैयाँ, समुद्र फिनी २४० देखि ३०० रुपैयाँ, जुम्ली मार्सी २३० देखि ३३८ रुपैयाँ, जेठो बूढो २९० देखि ३२० रुपैयाँ, ताइचिन १४० देखि १७५ रुपैयाँमा पाइन्छ ।
सस्तोमा पाइने जिरा मसिनो चामल प्रतिकिलो ९० देखि १४४ रुपैयाँ पर्छ ।
अन्य रैथाने चामलहरू पनि १२८ देखि ८०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेका छन् ।

नेपालमा हाल १४८ जातका धान सरकारी रूपमा सूचीकृत छन्, जसमा ९४ जात स्वदेशी र बाँकी आयातित तथा हाइब्रिड छन् ।

सरकारले अनुदान, बीउबिजन वितरण, सिँचाइ सुविधा, सहुलियत कर्जा तथा बीमा जस्ता कार्यक्रम ल्याए पनि उत्पादन मागअनुसार हुन सकेको छैन ।

नेपालमा हाल १४ लाख २० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ र ५९ लाख ५५ हजार टन धान उत्पादन भएको छ । तर अझै करिब १० लाख टन धान अपुग भएकाले नेपाललाई वार्षिक ठूलो परिमाणमा धान र चामल आयात गर्नु पर्ने बाध्यता छ ।

कृषि मन्त्रालयका अनुसार, नेपाल विश्वमा चामल उपभोगमा १३औं र उत्पादनमा १७औं स्थानमा पर्छ । कृषि विज्ञहरू भन्छन्— “रैथाने धान खेतीको प्रवर्द्धनले पोषण, स्वाद र अर्थतन्त्रमा राम्रो प्रभाव पार्छ ।”

Leave a comment