
मकवानपुरको बकैया गाउँपालिका–५, राजदमारस्थित एक घरमा जुवा खेलिरहेका २२ जनालाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार राति करिब १ बजे इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तिसुडेबाट खटिएको २१ जना प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिलन थिङको घरमा कौडा खेलिरहेका अवस्थामा २२ जना पक्राउ परेका हुन्। घटनास्थलबाट ३ सेट कौडा र नगद ८ लाख ३६ हजार ४० रुपैयाँ समेत बरामद गरिएको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर, सिन्धुली, रौतहटलगायत विभिन्न जिल्लाका व्यक्तिहरू छन्।
प्रमुख पक्राउ परेकाहरूमा बकैया–५ का ४६ वर्षीय मिलन थिङ, हेटौँडा–१८ का ४५ वर्षीय कमल थापा, सिन्धुली दुधौली–२ का ३७ वर्षीय कैलाश धामी, हेटौँडा–८ का ५३ वर्षीय फडिन्द्रप्रसाद घिमिरे र हेटौँडा–१६ का ४६ वर्षीय रमेश महत छन्।
त्यस्तै बागमती–६ का शेरबहादुर राना, दीपक दोङ, रवि चौधरी, रौतहट गौर–९ का ईश्वर चौधरीसहित अन्य १७ जना पनि पक्राउ परेका छन्।
प्रहरीले सबै पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।