
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि मौसम अस्थिर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।
महाशाखाका अनुसार देशभर आज दिउँसो साधारणतया बदली रहनेछ। देशका विभिन्न भूभागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ।
यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको पनि सम्भावना छ।
आज रातिको पूर्वानुमान:
रातको समयमा पनि देशभर साधारणतया बदली रहनेछ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी कोशी र गण्डकी प्रदेशमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।
सुझाव:
- नदी, नाला तथा भू–स्खलन प्रभावित क्षेत्रमा जान नजाने
- खेतबारी तथा यात्रा गर्दा सावधानी अपनाउने
- सम्भावित जोखिमबाट जोगिन स्थानीय तह र सुरक्षा निकायसँग समन्वयमा रहने