Join our Channel

आज देशभर वर्षा, पाँच प्रदेशमा भारी वर्षाको चेतावनी, सावधानी अपनाउन आग्रह

आज देशभर वर्षा, पाँच प्रदेशमा भारी वर्षाको चेतावनी, सावधानी अपनाउन आग्रह

हाल देशभर मनसुनी वायु सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आजको दिन कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यसबाहेक, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने देखिएको छ।

देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको जनाइएको छ। कोशीको तराई तथा मधेस प्रदेशका केही भागहरूमा हुरीसमेत चल्न सक्ने देखिएको छ।

राति पनि रहन्छ वर्षाको सम्भावना
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

डुबान, बाढी र पहिरोको खतरा
महाशाखाले अत्यधिक वर्षाका कारण पहाडी र तराई भूभागमा डुबान, बाढी र पहिरोको जोखिम रहेको बताएको छ। ठूला र साना नदीहरूमा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ।

सहरी क्षेत्र, सडक, कृषि, स्वास्थ्य, पर्यटन र हवाई यातायातमा समेत असर पुग्न सक्ने हुँदा सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता र पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।

Leave a comment