
इलाममा ससुराली गएका एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ भने उनका दाजु गम्भीर घाइते भएका छन्। सूर्योदय नगरपालिका–१, शिरिसेमा भएको यो घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ।
माइजोगमाई गाउँपालिका–२ घर भएका २१ वर्षीय प्रकाश चापागाईं आफ्ना दाजु निरोज चापागाईंसँग ससुराली गएका थिए। सोही क्रममा स्थानीय ३३ वर्षीय किरण शेर्पासँग विवाद भएपछि घटना घटेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय काजी तामाङको घरमा विवाद चर्किँदा किरण शेर्पाले धारिलो हतियार प्रयोग गरी प्रकाशलाई आक्रमण गरेका थिए। हतियारको प्रहारबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको छ।
घटनामा उनका दाजु निरोजको पेटमा पनि गहिरो चोट लागेको छ र उनलाई फिक्कलस्थित अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रहरीका अनुसार किरण शेर्पालाई घटनापछि नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको छ।
इलाममा यसप्रकारको आपराधिक घटना भइरहँदा सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठेको छ। स्थानीयवासीले निष्पक्ष छानबिन र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।