
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी नेतृत्वमा आउने चर्चा प्रति स्पष्ट प्रतिक्रिया दिएका छन्। बिहीबार सम्पन्न पार्टी सचिवालय बैठकमा भण्डारीको नाम उठेपछि ओलीले यसबारे अन्तिम निर्णय आगामी विधान महाधिवेशनमा हुने बताएका हुन्।
पत्रकार विजयकुमारलाई दिशानिर्देश च्यानलमार्फत दिएको अन्तर्वार्तामा ओलीले भने, “अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन। पार्टीले त्यस्तो ठानेको वा मानेको छैन।”
उनले भण्डारीसँग संगठनात्मक अनुभव नभएको र पार्टी राजनीतिबाट धेरै वर्ष टाढा बसेको कारण अहिलेको अवस्था नेतृत्वका लागि उपयुक्त नरहेको बताए।
केही दिनअघि इमेज टेलिभिजनमा दिइएको अन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको नेतृत्वमा आउने इच्छा व्यक्त गरेकी थिइन्।
ओलीले भने, “उहाँ आफैं राष्ट्रपति हुनु भएको होइन, हामीले पठाएका थियौं। त्यसैले अहिले राजनीति फर्कन खोज्दा त्यसले गणतन्त्र, समाज, राजनीति, र स्वयं भण्डारीको जीवनमा के असर पर्छ भनेर सोच्नुपर्ने हुन्छ।”
उनले भण्डारीसँग व्यक्तिगत सल्लाह आवश्यक रहेको र उनको धारणा बुझ्न पार्टीले संवाद गर्ने जानकारी पनि दिए।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले नेतृत्वमा फर्कने चर्चा बलियो बनेका बेला अध्यक्ष ओलीले सार्वजनिक रूपमा सम्भावना नदेखिएको प्रस्ट पारेका छन्। अब यो विषय विधान महाधिवेशनसम्म गम्भीर बहसको रुपमा उठ्न सक्छ।